काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी पार्टीहरूसँग एकता गरेर विचार मिल्ने पार्टीसँग मोर्चाबन्दीमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकले मंगलबार निर्णय सार्वजनिक गर्दै एकता र सहकार्य गर्ने निर्णय गरेको हो । आज राजधानीमा पत्रकार सम्मेलन गरेर सो निर्णय पाटीले सार्वजनिक गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीले जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमार्फच सुचना सार्वजनिक गरिसकेको छ । पार्टीले सुव्यवस्थित बहस र अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जबस मोर्चाका नेता, सामना सांस्कृतिक परिवारसहितको टोली सहभागी हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै सो पाटीले आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा बहस उठाएर अघि बढ्ने बताएको छ । त्यसका लागि आगामी दिनमा पार्टी दर्ता गरेर आवश्यक निर्वाचन चिह्न समेत उल्लेख गरेको छ ।




