
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले उमेर हद म्यादका विषयमा विभिन्न टिक्काटिप्पणी भइरहेपनि राजनीति वृतमा एक किसिमको चर्चा परिचर्चा भएको बताएका छन् ।
उनले अखिल क्रान्तिकारीमा उमेर हदबारे भएको निर्वाचनमा ३२ वर्षे उमेर हदको पक्षमा बहुमत आएपछि विद्यार्थी आन्दोलनमा एउटा ऐतिहासिक कार्य भएको बताए । ३२ वर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेर हदको एजेन्डालाई विधिवत् प्रस्तुत गरेकाले अहिले सम्भव भएको उनको भनाइ छ ।
‘०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रक्रियाबाट यो एजेन्डाको टुंगो लागेको छ । ३२ वर्ष पुरा हुने जो तपाई नेताहरू हुनुहुन्छ तपाईँको इच्छा विद्यार्थीको बिचबाट आफूलाई परीक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसाबले जायज नै छ’ शर्माले भनेका छन्, ‘तर एउटा विधि अगाडि बढिसकेकोले यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडि बढेर यसको सम्पूर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ ।’ पार्टीभित्र नवीनतम बहस पैरवी गरेर नीति निर्माण तहमा युवाहरूलाई मौका दिनुपर्ने एजेन्डा स्थापित गर्न लाग्न पनि आग्रह गरेका छन्।