सन्धिखर्क । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनालले माओवादी र नेकपा समाजवादीबीच निर्वाचनपछि एकता हुने बताएका छन् । उनले निर्वाचनमा संयोजन समिति बनाएर गठबन्धन गरेर जाने र निर्वाचनपछि पार्टी एकता गर्ने सहमति भएको बताएका छन् ।
आउँदो चुनावलाई मध्यनजर गर्दै स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन कायम रहने तथा अन्य दलहरूलाई पनि गठबन्धनमा समावेश गर्ने गरी प्रक्रिया अगाडि बढेको उनले जानकारी दिएका छन् । मंसिर ४ मा हुने संघ र प्रदेशको चुनावमा स्थानीय तहको परिणाम अनुसार भागबण्डा गर्ने बताए । उनले भने, ‘भदौ १५ गतेसम्म सिट बाँडफाँटको टुङ्गो लाग्छ। समयमै गठबन्धनका उम्मेदवारहरू जिल्ला जिल्ला आउने कुरामा विश्वस्त हुन सबैमा अनुरोध गरें ।’
प्रेस सेन्टरले आज सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थायी समितिको बैठकले बाबुराम भट्टराई पनि हसियाहथौडा चुनाव चिह्न लिएर निर्वाचनमा जाने निणर्य गरेको बताए । बामदेव गौतमले पनि हसिया हथौडाबाट चुनाव लड्न पत्र पठाएको तर यसबारे माओवादीमा कुनै निणर्य नभएको खनालले बताए ।
अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् । गणतन्त्रको रक्षा तथा स्थायित्वका लागि गठबन्धन गरिएको स्पष्ट पारे । नेता खनालले गठबन्धन हिजोको जस्तो नभै स्थायित्व दिने खालको भएको बताउँदै राजमो र एमाले बाहेकका कम्युनिस्ट पार्टीसँग पनि एकताको छलफल भइरहेको बताए ।




