काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक बहिस्कार गरेका छन् ।
प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि साम्पाङले संसद्मा उभिएर आपत्ति जनाएका थिए । उनले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमबारे जवाफ दिनुपर्ने भन्दै राजीनामासमेत माग गरेका थिए ।
साम्पाङले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक अभ्यास स्मरण गराउँदै सरकार प्रमुख नै अनुपस्थित रहने अवस्था लोकतान्त्रिक संस्कारविपरीत भएको टिप्पणी गरेका थिए ।
त्यसक्रममा सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्न समय दिएपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका हुन् । उनको बहिर्गमनपछि संसद्मा केही समय तनावपूर्ण वातावरण बनेको थियो ।
पछिल्ला दिनमा प्रधानमन्त्री शाहको संसद्मा लगातार अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले चर्को आलोचना गरिरहेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलजस्तो महत्वपूर्ण प्रक्रियामा प्रधानमन्त्री सहभागी नहुनुले संसद्को गरिमामाथि प्रश्न उठेको विपक्षीको आरोप छ ।




