काठमाडौं । विपक्षी दलहरूले संसद्को भूमिका कमजोर बनाउने प्रयास भइरहेको भन्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा विपक्षी दलका प्रमुख सचेतक तथा सचेतकहरूले संसद्लाई प्रभावहीन बनाइँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले कार्यकारी शक्ति केन्द्रित गर्दै संसद्लाई केवल औपचारिकतामा सीमित गर्न खोजेको आरोप लगाए। उनका अनुसार नीति तथा कार्यक्रममाथिको छलफल छोट्याइनु र बैठकमा विपक्षीलाई पर्याप्त बोल्ने समय नदिनु संसदीय अभ्यासविपरीत भएको विपक्षीको निष्कर्ष छ।
महरले विपक्षी दलले आकस्मिक समय माग गरेको जानकारी दिँदै समय उपलब्ध नभए अन्य प्रक्रियामार्फत आफ्ना धारणा राख्ने बताए। उनले आवश्यक परे सदनमै उभिएर विरोध जनाउने चेतावनी दिए पनि बैठक बहिष्कार गर्ने योजना भने नरहेको स्पष्ट पारे। विपक्षी दलहरूले संसद्को प्रभावकारी भूमिका सुनिश्चित गर्न सभामुखले निष्पक्ष र सक्रिय भूमिका खेल्नुपर्ने मागसमेत गरेका छन्।




