काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको बैठकमा सरकारका पछिल्ला निर्णयहरूविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले संसद्मा सरकारको गतिविधि निगरानी गर्दै कडा भूमिका खेल्ने निष्कर्ष निकालेको हो।
प्रमुख सचेतक युवाराज दुलालका अनुसार बैठकमा सरकारका विभिन्न कदमबारे विस्तृत छलफल भएको थियो। संसद्मा सुकुम्बासी समस्या समाधानमा देखिएको ढिलाइ, संसद् छल्दै ल्याइएका अध्यादेश, तथा प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा रहेका प्रावधानहरूलाई लिएर पार्टीले आपत्ति जनाउने तयारी गरेको छ।
नेकपाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र संवैधानिक अभ्याससँग सम्बन्धित विषयहरू पनि संसद्मा उठाउने जनाएको छ। पार्टीले यी विषयमा संशोधन प्रस्तावसमेत दर्ता गर्ने तयारी गरेको दुलालले जानकारी दिए।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको कदमप्रति विपक्षी दलहरू एकै स्वरमा आलोचना गर्दै आएका छन्। सरकारका यस्ता निर्णयले सामाजिक संवेदनशीलता कमजोर बनाएको भन्दै विपक्षी दलहरू संसद्भित्र एकीकृत रूपमा प्रस्तुत हुने संकेत देखिएको छ।




