काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलबाहेक एमालेसँग चुनावी तालमेल नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न भन्दै बोलाइएको कार्यसम्पादन समितिको बैठकले एमालेसँग तालमेल नगर्न निर्देशन दिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी निर्णय हुने दाबी गरेका छन् । नवलपरासीको दलदलेमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले आइतबारसम्म चुनावी तालमेलका बारेमा केन्द्रमा बनेको गठबन्धनले निर्णय गर्ने दाबी गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमा चुनाव हुन नसके देश दुर्घटनामा जाने चेतावनी दिएका छन् । जनकपुरमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब चुनावको मिति नसर्ने समेत स्पष्ट पारे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको दाबी गरेका छन् । सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलहरू भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरू आफैँ अत्तालिएको उनको भनाई छ ।
चितवनको भरतपुर महानगरपालिका भित्रका कांग्रेसका ५० जना नेता–कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । पार्टी छाड्नेमा स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू रहेका छन् । माओवादीलाई महानगरको मेयरमा समर्थन गर्ने कांग्रेसको तयारीको विरोध गर्दै उनीहरुले कांग्रेस छाडेको घोषणा गरेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकै दिन मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको जानकारी दिएको छ । गर्मी वढे संगै आगलागीको घटना दिन प्रतिदिन वढिरहेको छ । प्राधिकरणले आज जारी गरेको सूचना अनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।




