काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ भने चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो । यससँगै बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्यमा भने सामान्य कमी आएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको छ ।
सुनको मूल्य बढ्दा चाँदी घटेपछि बजारमा मिश्रित प्रवृत्ति देखिएको व्यवसायीहरू बताउँछन् ।




