देश

एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ ।

विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।

लामो समयदेखि क्यानाडामा प्राध्यापन गरेका नेपाली भाषी प्रधानको नेतृत्वमा गठन भएको यस समितिको उपाध्यक्षमा एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन भएका हुन् ।

त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक, सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं चयन भएका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारी र महासचिव चूडामणि भट्टराईले एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारीका रुपमा एएनओ आएको स्पष्ट गरे ।

नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाली, भूटानी तथा भारतीय नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटा, कोषाध्यक्ष इन्दिरा रिजाल, प्राध्यापक डा तुलसी धरेल, डा गोविन्दसिंह रावत, प्राध्यापक डा राजेन्द्र पन्थीलगायतले नवगठिन कार्यसमितिलाई शुभकामना दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *