काठमाडौं । लगातारको वर्षासँगै उत्पन्न बाढी र पहिरोको जोखिमका कारण विपी राजमार्गमा यातायात पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो सवा ४ बजेदेखि राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
प्रहरीका अनुसार मौसमको अवस्था अस्थिर रहँदा सडकमा पहिरो खस्ने तथा बाढी आउने सम्भावना उच्च देखिएकाले सतर्कताका लागि राजमार्ग बन्द गरिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिनुपरेको जनाइएको छ।
अधिकारीहरूले मौसममा सुधार आई सडक सुरक्षित भएको पुष्टि नभएसम्म यातायात सञ्चालन नगर्ने स्पष्ट पारेका छन्। स्थिति सामान्य भएपछि मात्रै राजमार्ग पुनः सञ्चालनमा ल्याइनेछ।
यात्रु तथा चालकहरूलाई आवश्यक जानकारीका लागि प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै, वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरिएको छ।




