काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आफ्नै सरकारले ल्याएको अध्यादेशबारे टिप्पणी गर्दै यसलाई ‘बहादुरी’ भन्न नमिल्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको पार्टीले अधिवेशन रोकेर अध्यादेश ल्याउनुपरेको अवस्थालाई ‘बाध्यता हो कि अन्य कारण’ भन्ने विषय पछि खुल्ने तर यसलाई बहादुरी भने भन्न नसकिने उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, “अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला, तर यो बहादुरी भने होइन।”
सांसद कार्कीले अध्यादेश संविधानले दिएको अधिकारअनुसार ल्याइने भए पनि यसपटकको सिफारिस संविधानको अक्षरअनुसार भए पनि मर्मअनुसार नभएको टिप्पणी गरेका छन्।
संविधान अक्षरले मात्र बाँच्ने दस्तावेज नभएको उल्लेख गर्दै उनले यसको जीवन्तता मर्मको पालनामा निर्भर रहने बताएका छन्। साथै संविधानका अक्षरले यसको मर्मलाई सीमित गर्न नहुने उनको भनाइ छ।
यसैबीच, विपक्षी दलले यस्तै परिस्थितिमा अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरू अहिले पनि सान्दर्भिक रहेको उनले उल्लेख गरेका छन्।




