काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूुर्वमन्त्री मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाप्रत्ति आक्रोस व्यस्त गरेका छन् । पूर्वमन्त्री बस्नेतले बुधबार कांग्रेस केन्द्रिय समितिको बैठकमा महामन्त्री थापामाथि असन्तुष्टि व्यक्त गर्दै आक्रोश पोखेका हुन् ।
पूर्वमन्त्री बस्नेतले आफूविरुद्ध टेरामक्स प्रकरण उठाएर गगन थापाले संसद् र अख्तियारमा अनावश्यक प्रभाव पारेको आरोप लगाए। बैठकमा उनले स्पष्ट भने, “गगनजी, तपाईं सबैलाई समाउन लगाउनुहुन्छ, तर सोच्नुस् — ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला!”
बस्नेतको अभिव्यक्ति केवल व्यक्तिगत गुनासोमा सीमित रहेन। उनले गगन थापामाथि लक्षित गर्दै भने, “तालु खुइल्याएर कपाल झार्नेहरूलाई गाह्रो पर्ला।” यस्तो भनाइले बैठकमा थप तनावपूर्ण वातावरण बनाएको स्रोतहरूले जनाएको छ । उनले थपे, “राजनीति अब पाकिस्तान मोडलतिर गइरहेको छ — जहाँ कोही प्रधानमन्त्री, मन्त्री वा सचिव सुरक्षित छैनन्। समय लाग्ला, कोही पनि सग्लो बस्दैन।”
बस्नेतले गगन थापाले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणमाथि चर्को आवाज उठाएको स्मरण गर्दै आफूविरुद्ध पनि अख्तियार प्रयोग भएको आरोप लगाए। “स्वास्थ्य मन्त्रालयदेखि त्रिचन्द्र कलेजसम्मको तपाईंको यात्रा हामीलाई थाहा छ,” उनले गगनलाई सचेत गराउँदै भने।
गृहनगरको नारामा ‘प्रजातन्त्रका सिपाही’ भनेर चिनिने कांग्रेसभित्र अहिले शब्द र सन्देश दुवै असहिष्णु बन्दै गइरहेका छन्। गगन थापा र मोहन बस्नेतबीचको विवादले केवल भ्रष्टाचार र अख्तियारको मुद्दा होइन, पार्टीभित्रको आन्तरिक असन्तुलन र आपसी अविश्वासको झल्को पनि दिएको छ। कांग्रेसभित्र समस्या समाधान हुन्छ कि संकटको नयाँ चरण सुरु हुन्छ?




