काठमाडौँ । झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको आरोपमा प्रधानाध्यापक र लेखापालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यमाथि आर्थिक वर्ष २०७७/७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम हिनामिना तथा दुरुपयोग गरेको आरोप छ।
अनुसन्धानका क्रममा नमूना विद्यालय भवन निर्माणको वास्तविक मूल्याङ्कन करिब १ करोड ४८ लाख ५३ हजार रुपैयाँ भए पनि झुट्टा बिल र कागजात तयार गरी २ करोड ७ लाख ७९ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको छ। यसबाट मात्र करिब ५९ लाख २६ हजार रुपैयाँ अनियमितता भएको देखिएको आयोगले जनाएको छ।
त्यसैगरी नगद हिनामिना, बेरुजु रकम र व्यक्तिगत प्रयोगसमेत जोड्दा कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ पैसा बराबरको सार्वजनिक रकम दुरुपयोग भएको दाबी गरिएको छ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै बिगो असुल, जरिवाना तथा कैद सजायको माग गरेको छ।




