काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमाले गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिनु नै अहिलेको अनिवार्य राजनीतिक विकल्प भएको दाबी गरेका छन्। बुधबार डडेल्धुरामा कांग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले गठबन्धनलाई ‘मुलुककै आवश्यकता’ ठहर गरे।
सरकार गठन भएको एक वर्ष पूरा हुन लागिसक्यो,लेखकले भने, अब एक वर्षपछि शेरबहादुर दाइ प्रधानमन्त्री बन्नुहुन्छ, र ८४ सालको निर्वाचन उहाँकै नेतृत्वमा हुनेछ।ू लेखकले एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहकार्यलाई रणनीतिक स्थायित्वको रूपमा चित्रित गरे।
कार्यक्रममा लेखकले आफू राजनीतिक षड्यन्त्रको निशानामा परेको गुनासो पनि गरे। उनले कुनै कार्यालयका कर्मचारीमाथिको छानबिनमा मन्त्रीलाई जोड्नु नियोजित कदम भएको जिकिर गरे। यो नियत स्पष्ट हुँदै गएको छ,उनले भने, सरकारलाई कमजोर बनाउने र कांग्रेसलाई बदनाम गर्ने खेल हो। अध्यागमन प्रणालीमा देखिएको समस्याबारे समेत गृहमन्त्री लेखकले बोले। उनले यो विषय समाधानका लागि सरकार र विपक्षी दलबीचको सहमतिमा उच्चस्तरीय समिति गठन भइसकेको जानकारी दिए।
त्यस्तै, सुदूरपश्चिम विकासप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले भने, सरकार सबै तवरबाट सुदूरपश्चिमको समृद्धिका लागि लागि परेको छ। गृहमन्त्री लेखकको अभिव्यक्तिले गठबन्धनप्रति कांग्रेसभित्र गहिरो प्रतिबद्धता देखाए पनि, पछिल्लो समय देखिएको आन्तरिक असन्तुष्टि र मन्त्रालयसँग जोडिएका विवादले सरकारमाथिको जनविश्वासमा असर पार्न थालेको छ। गठबन्धन ८४ सम्म जान सक्छ तर त्यसको राजनीतिक लागत चुकाउनु नपरोस् भन्ने चासो पनि उब्जिएको छ।




