काठमाडौं । नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गरे कडा रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको राम्रो काममा समर्थन गर्ने तर गलत कदमको कडा विरोध गर्ने बताएका हुन्।
उनले भने, “सरकारले राम्रो काम गरे समर्थन गर्छौं, तर जनताको मन दुखाउने खालका काम भए त्यसको सशक्त प्रतिवाद गर्छौं।”
आङदेम्बेले लोकतन्त्रमा संसद् प्रतिपक्षको हुने भएकाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले पार्टीले अघि सारेको नयाँ दृष्टिकोणअनुसार मुलुकलाई अघि बढाउन आफू सक्रिय रहने बताए।




