काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ ।केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको बताए । सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने बताए ।
गठबन्धनका विषयमा प्रतिकुल विचार नआएको बताए । संसदमा रहेका र पार्टीका नेताहरूमा अनुशासन नभएको कुरा केन्द्रीय समितिको बैठकमा आएको पनि बताए ।
उनले भने ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन । त्यो कुरा साथीहरूले बुझ्नुभएको छ । यद्यपि कतिपय साथीहरूको गुनासो छ । तथापि गठबन्धनका विषयमा फेरि प्रतिकुल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टीमा अनुशासन भएन । संसदमा र बाहिर रहेका साथीहरूले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ ।’
आफूलाई मनमा लागेको कुरा बोल्ने र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको बारेमा प्रश्न उठेको उनको भनाइ छ ।




