जानकी (बाँके) । नेपालगन्ज विमानस्थलमा यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरणले आजदेखि उक्त सेवा सुरु गरेको हो।
विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा सञ्चालन हुने यो सेवाले यात्रुहरूको आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी सेवा सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
करिब २५ सिट क्षमताको अपाङ्गमैत्री ट्रलीबसमार्फत सेवा उपलब्ध गराइनेछ। नेपालगन्ज विमानस्थलका प्रमुख सन्तोषकुमार पोखरेलले यात्रु सुविधालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिएको बताए।
यात्रुहरूले नयाँ सेवाले अटो भाडा र आवतजावतको झन्झट कम भएको प्रतिक्रिया दिएका छन्। नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवालाई थप आधुनिक र यात्रुमैत्री बनाउने उद्देश्यले यस्ता सुधारहरू क्रमशः अघि बढाइरहेको जनाएको छ।




