राजनीति

बालुवाटारमा ओली–देउवा सहमति : सरकार र गठबन्धनबारे ‘हल्ला’ चिर्ने अठोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिब दुई घण्टा लामो छलफलपछि सरकार र सत्ता गठबन्धनबारे फैलिएको अन्योललाई कामबाटै चिर्ने सहमति भएको छ। शनिबार राति बालुवाटारमा भएको छलफलमा दुवै नेताले गठबन्धनलाई लिएर उठेका आशंका र प्रचारप्रति गम्भीर भएर जवाफ दिनुपर्ने निष्कर्ष निकाले। छलफलमा गभर्नर नियुक्ति, संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने, र शिक्षक आन्दोलनका विषयमा विशेष ध्यान दिनुपर्ने सहमति भएको हो।

बैठकमा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री विष्णु पौडेल पनि सहभागी थिए। मन्त्री लेखकका अनुसार, पछिल्लो समय सत्तापक्ष र विपक्षी दलका नेताहरूले दिएको अभिव्यक्तिले राजनीतिक अन्योल पैदा गरेकाले त्यसलाई चिर्न ठोस काम गरिने सहमति भएको हो।

गठबन्धनमा कुनै समस्या नरहेको बताउँदै नेताहरूले सरकार ढल्छ भन्ने प्रचारमा कुनै सत्यता नभएको दाबी गरे। प्रधानमन्त्री ओलीले समेत आइतबार सार्वजनिक कार्यक्रममा देउवाले सरकारविरुद्ध फैलिएको हल्लामा  चिसो पानी खन्याइदिएको   टिप्पणी गरे।

प्रधानमन्त्री ओली र सभापति देउवाले गभर्नर सिफारिस समिति पूर्णता दिनु, शान्ति प्रक्रिया टुंग्याउन सिफारिसअनुसार अघि बढ्नु र शिक्षक आन्दोलन चाँडै समाधान गर्नु प्राथमिकतामा राख्ने सहमति जनाएका छन्। यता, कांग्रेसभित्रका केही नेताले सरकारको कार्यशैलीप्रति चासो व्यक्त गरिरहेका बेला, शीर्ष नेताहरूको यो सहमति सत्ता गठबन्धनको स्थिरता देखाउने संकेतका रूपमा आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *