देश

बस्ती हटाइएपछि विस्थापित परिवारहरू सहायता र आश्रयको खोजीमा , सुकुम्बासी दर्ता गर्ने परिवार एक हजार बढी

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा रहेका अनधिकृत बस्ती हटाइएपछि विस्थापित परिवारहरू सहायता र आश्रयको खोजीमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्न थालेका छन्। मंगलबार मध्याह्नसम्म सुकुम्बासीका रूपमा नाम दर्ता गर्ने परिवारको संख्या एक हजार नाघेको छ। सरकारी निकायका अनुसार हालसम्म १ हजार ७८ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। औसत चार सदस्यीय परिवारका आधारमा हेर्दा ४ हजारभन्दा बढी व्यक्ति दर्ता भइसकेका छन्, जसमा १५ सयभन्दा बढी बालबालिका रहेका छन्।

थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा सुरक्षा बलको सहयोगमा बस्ती हटाइएपछि धेरै परिवार अस्थायी रूपमा विस्थापित भएका थिए। त्यसपछि उनीहरू सरकारी सम्पर्कमा आउन थालेका हुन्। सरकारले आफैं बसोबास र खानपिनको व्यवस्था गर्न नसक्ने परिवारका लागि दशरथ रंगशालामा सहायता केन्द्र स्थापना गरेको छ। त्यहाँ विवरण संकलन गरेपछि प्रभावित परिवारलाई विभिन्न पाँच वटा होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने व्यवस्था मिलाइएको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्कमार्फत तथ्यांक संकलन गरिरहेका छन्। साथै स्वास्थ्य परीक्षण, भोजन वितरण र प्राथमिक राहत व्यवस्थापनको काम पनि रंगशालामै भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको जनाइएको छ। थापाथली क्षेत्रबाट विस्थापित अधिकांश परिवार रंगशालामा आइसकेका छन् भने सिनामंगल, गैरीगाउँ र शान्तिनगरबाट आउने क्रम अझै जारी छ। आइतबारयता ती क्षेत्रबाट आउनेको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ।

नाम दर्ता गरिसकेपछि प्रभावित परिवारलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टर तथा माछापोखरी र नयाँ बसपार्क क्षेत्रका होटल तथा लजहरूमा अस्थायी रूपमा राखिएको छ। यस घटनाले शहरी विकास, वैकल्पिक आवास र सुकुम्बासी व्यवस्थापनमा राज्यको दीर्घकालीन नीति अझै स्पष्ट नभएको प्रश्न फेरि उठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *