काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको जनाएको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्माले उक्त निर्णय संविधान, कानुन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताविपरीत रहेको बताउँदै कार्यान्वयन नगर्न स्थानीय र प्रदेश सरकारलाई पनि सचेत गराइएको जानकारी दिइन् ।
उनले सरकारले निर्णय फिर्ता नलिए अन्तर्राष्ट्रिय स्तरमा विषय उठाउने चेतावनी दिँदै सञ्चार मन्त्रालयको हालैको विज्ञप्तिप्रति पनि आपत्ति जनाइन् ।
अध्यक्ष शर्माले समाचारको अनुगमन गर्ने अधिकार प्रेस काउन्सिलसँग भएको उल्लेख गर्दै सामाजिक सञ्जाल नियमनका नाममा सरकारले डर त्रास सिर्जना गर्न खोजेको आरोप लगाइन् ।
महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी बनाउन प्रेस काउन्सिललाई सुदृढ र स्वायत्त बनाइनुपर्ने मागसमेत गरेको छ ।




