काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रभित्र आलोचनालाई स्वागतयोग्य भनेका छन्, तर त्यो आलोचना तथ्य, सत्य र राष्ट्रहितमा आधारित हुनुपर्ने स्पष्ट पारेका छन्। शुक्रबार राजधानीमा आयोजित भूकम्प स्मृति दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले असत्य, भ्रामक र समाज विखण्डनतर्फ उन्मुख आलोचना लोकतन्त्रको मर्मविपरीत हुने बताए।
उनले भने, “लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक कुरा हो। आलोचना पनि आवश्यक छ। तर त्यो आलोचना सत्य, तथ्य र रचनात्मक हुनुपर्छ— समाजलाई बाँध्ने, राष्ट्रिय एकता मजबुत पार्ने खालको।”
प्रधानमन्त्री ओलीले २०७२ सालको विनाशकारी भूकम्पको समयमा संविधान निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै संकटको बेलामा राजनीतिक दलहरूले देखाएको एकतालाई स्मरण गरे। “त्यो समय हाम्रो लागि अत्यन्तै संवेदनशील थियो,” उनले भने, “संविधान जारी गर्ने ऐतिहासिक क्षणमा भूकम्पले ठूलो चुनौती खडा गर्यो। तर, राजनीतिक दलहरूबीच पक्ष–विपक्ष नभनी देखिएको एकता अनुकरणीय रह्यो।” उनले संविधान जारी गर्नु देशको साझा सपना रहेको र त्यसलाई कुनै हालतमा अधुरो नराख्ने संकल्पसहित अघि बढिएको बताए।
प्रधानमन्त्रीले राष्ट्रिय हित, सुशासन र विकासका विषयमा राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताए। उनले लोकतन्त्रलाई मजबुत बनाउने मूल आधार नै सहकार्य, तथ्यमा आधारित बहस र सकारात्मक प्रतिस्पर्धा भएको उल्लेख गरे। “हामीले देखाएका एकता, सहकार्य र साझा प्रतिबद्धताले नै मुलुकलाई संकटबाट उकास्न सफल भएको हो,” उनले भने, “अब पनि राष्ट्रिय प्रश्नहरूमा समान सोच र उद्देश्यका साथ अघि बढ्न आवश्यक छ।”




