काठमाडौं । बजेट अधिवेशनको प्रारम्भिक बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीको संसदीय सम्बोधन स्थगित गरिएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको सम्बोधन कार्यक्रम प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको अनुपस्थितिका कारण रोकिएको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको सम्बोधन स्थगन भएको पुष्टि गर्दै प्रमुख दलका नेताहरूको उपस्थितिका लागि अनुकूल समय कुरिएको जानकारी दिएका छन्।
सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा हाल थाइल्याण्ड भ्रमणमा रहेका छन् भने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको भ्रमणमा छन्। दुवै नेता संसद् बैठकमा उपस्थित हुन नसक्ने भएपछि प्रधानमन्त्रीको सम्बोधन पछि सारिएको हो।
प्रमुख नेताहरूको अनुपस्थितिमा आजको बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संसद्को औपचारिक सुरुवात भए पनि राजनीतिक संवादको अपेक्षित धार अझै निर्माण हुन नसकेको संकेत आजको स्थगनले दिएको छ।




