राजनीति

निर्वाचनमा असहयोगको आरोप, तीन मन्त्रीसहित सात प्रदेश सांसदलाई कांग्रेसको स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको आरोपमा तीन प्रदेश मन्त्रीसहित सात जना प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बुधबार बसेको बैठकपछि पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
कांग्रेसका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रारम्भिक निष्कर्षपछि सम्बन्धित नेताहरूलाई स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण मागिएका नेतामध्ये लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने रहेका छन्। यस्तै लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेश उपसभापति राजु खनाल, मधेश प्रदेशका सांसद जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायसँग पनि जवाफ मागिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले अनुशासन समितिको निर्णयअनुसार सम्बन्धित व्यक्तिहरूलाई पाँच दिनको समयसीमा दिइएको जानकारी दिए।

पछिल्लो समय कांग्रेसभित्र अन्तरघात, गुटगत प्रतिस्पर्धा र संगठनात्मक अनुशासनको विषय चर्चामा रहँदै आएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई असहयोग गरेको आरोपमा प्रदेश तहका मन्त्री र सांसद नै कारबाही प्रक्रियामा तानिनुले पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत गरेको छ। अब उनीहरूको स्पष्टीकरणपछि थप कारबाही गर्ने वा आरोप फिर्ता लिने विषयमा अनुशासन समितिले निर्णय गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *