काठमाडौं । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रतिनिधि सभामा प्रस्तुत हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि तयार गरिएको संसद् कार्यतालिकाको मस्यौदामा यो मिति उल्लेख गरिएको हो।
साथै, सरकारको प्रस्तावअनुसार आगामी जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरु हुने तय भएको छ। संसदको कार्यतालिका वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गरिनेछ।
नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विषयको चापका कारण सभामुख घिमिरेले शनिबार र सार्वजनिक बिदाबाहेक संसदका सबै दिन बैठक चलाउने प्रस्ताव गरेका छन्, जुन बैठकले अनुमोदन गरिसकेको छ।
यससँगै संसदको सत्र अब निकै व्यस्त हुने देखिएको छ, जहाँ नीति निर्माणदेखि बजेट विनियोजनसम्मका प्रमुख छलफलहरू केन्द्रमा रहनेछन्।




