देश

पूर्णबहादुर खड्काविरुद्धको स्पष्टीकरण प्रकरण तामेलीमा, कांग्रेस अनुशासन समितिको निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको प्रक्रिया हालका लागि तामेलीमा राख्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेको हो। समितिका अनुसार खड्कासँग सम्बन्धित पदीय जिम्मेवारीबारे सोधिएको स्पष्टीकरणको औचित्य हाल समाप्त भइसकेको निष्कर्ष निकालिएको छ।

यसअघि वैशाख २ गते समितिले खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, वैशाख ४ गते सर्वोच्च अदालतबाट आएको फैसलापछि परिस्थितिमा परिवर्तन आएको भन्दै सो प्रक्रिया अब अघि नबढाउने निर्णय गरिएको हो। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा अदालतको फैसलापछि स्पष्टीकरणको आधार नै समाप्त भएकाले तामेलीमा राखिएको उल्लेख छ। पार्टीभित्र अनुशासन र संस्थागत प्रक्रियालाई प्राथमिकता दिँदै अघि बढिरहेको दाबी गरिए पनि यस निर्णयले आन्तरिक राजनीतिक समीकरण र निर्णय प्रक्रियाबारे नयाँ चर्चा सुरु भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *