काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले अलपत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाहरूलाई समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले विकास निर्माणका परियोजनालाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा सुरु हुने परियोजनामा विगतका कमजोरी दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको बताए ।
सभापति गजुरेलले नियम, प्रक्रिया र कार्यान्वयन तहमा रहेका अस्पष्टता तथा त्रुटिहरूको गहिरो अध्ययन गरी समितिले सरकारलाई ठोस सुझाव र निर्देशन दिने उल्लेख गरे । उनले विकास निर्माणका विषयमा सरकार समितिप्रति जवाफदेही हुनुपर्ने बताए ।
उनले भने, “पूर्वाधारहरू जुन अलपत्र परेका छन्, तिनीहरूको व्यवस्थापन हुनुपर्छ, समयमा नै काम सम्पन्न हुनुपर्छ। आगामी दिनमा आउने परियोजनामा विगतका गल्ती दोहोरिन दिनु हुँदैन। नीति, नियम र प्रक्रियामा के–के अस्पष्टता र त्रुटि छन्, ती विषयमा गहन छलफल गरेर सरकारलाई सुझाव र निर्देशन दिनुपर्छ।”
उनका अनुसार मन्त्री र सचिवहरूले संसदीय समितिमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने हुन्छ र संसदीय अनुगमन प्रक्रियामा उनीहरूको सहभागिता अनिवार्य छ ।
समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, समस्या र समाधानका उपायबारे प्रतिवेदन तयार गर्न उपसमिति समेत गठन गरेको छ ।




