काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहीन भएको छ। बुधबारदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सुचारु गर्ने प्रयास आज पनि सफल हुन सकेन। संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छलफलबाट कुनै ठोस निचोड ननिस्किएको जानकारी दिए। उनले भने, हामी थप छलफलमा छौँ, आजै सदन खुलाउने प्रयास जारी छ।
विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपालगायतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारण स्पष्ट पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन्। तर, प्रधानमन्त्री ओलीले यस विषयमा सदनमा जवाफ नदिने बताएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध जारी राख्ने अडान लिएका छन्।
कयौं पटक छलफल भए पनि दुबै पक्ष आफ्ना अडानबाट पछि हट्न तयार छैनन्। यसै कारण, आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक तोकिएको समयमा बस्न सकेको छैन। एमाले प्रमुख सचेतक बर्तौलाले केही ढिलो भए पनि संसद् सञ्चालनका लागि निरन्तर वार्ता भइरहेको जानकारी दिए। तर, तत्काल सहमति हुने सम्भावना भने टाढा देखिएको छ।




