काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिका बैठकमा सहभागी भएका छन् । देउवा कानुन समितिको बैठकमा र प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका हुन् ।
कानुन समितिमा केही नेपाल ऐन संशोधनमा वन तथा वातावरण मन्त्रालयको विषयमा छलफल हुँदै छ । यसैगरी राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुने जानाइएको छ ।
सो बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् । ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’, प्रचण्डले भने ।
प्रचण्डको यस्तो जवाफपछि बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन् । ‘शेरा दरबारका बारेमा स्पष्ट धारणा राख्न सांसद घिमिरेले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन् । गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार एन संसोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका हुन ।




