
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै अर्काको काँध चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन सकिएको दाबी गरेका छन् ।
एमाले पर्सा कमिटीले आइतबार वीरगन्जमा गरेको जनसभामा उनले प्रचण्डतर्फ लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताएका हुन् । ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए। त्यो दिन जानुपर्छ भनेर नै एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ उनले भने ।ओलीले अहिले कांग्रेससँग बनेको सरकार गठबन्धन नभई समीकरण भएको जिकिर गरे।
आगामी निर्वाचनसम्म कांग्रेस र एमाले मिलेर जाने बताए । चुनावमा जुन दलले बहुमत ल्याउँछ उसैले सरकार बनाउने उनको भनाइ थियो ।माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुँदा र पदबाट हटिसकेपछि पनि आफूसँग म्याजिक नम्बर (३२ सिट) भएको भन्दै सरकार बनाउन जसलाई पनि चाहिने बताउँदै आएका छन् ।
एमाले र माओवादी सरकार भएका बेला उनले म्याजिक नम्बरलाई देखाउँदै प्रधानमन्त्रीबाट नहट्ने संकेत गरेपछि कांग्रेस र एमाले मिलेर प्रचण्डलाई सडकमा पुर्याइदिएका थिए । तर अहिले पनि उनी म्याजिक नम्बरको भ्रम छर्न छाडेका छैनन् ।