देश

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुमवासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए ।

हालसम्म नगरपालिकाको सम्पर्कमा ६० परिवार वास्तविक भूमिहीन सुकुमवासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

नगरप्रमुख आचार्यका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) जग्गा अतिक्रमण गरी सात साय ५१ परिवार घरटहरा बनाएर बसिरहेका छन् । तीमध्ये अव्यवस्थित बासोबासी चार सय १६, भूमिहीन दलित एक सय ७२ र भूमिहीन सुकुमवासी एक सय ६३ जना रहेको उनले बताए ।

‘बस्ती विकास तथा बसोबासका क्रममा केही व्यक्ति तथा विचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधि भएको भनेर उजुरी पनि आएका छन् । सो सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी छ’ उनले भने ।

यसैबीच, नगर क्षेत्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक सुकुमवासी तथा भूमिहीन दलितको पहिचान गर्न सुरु गरिएको छ । नगरपालिकाले एउटा अभिलेख व्यवस्थापन समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएकोलगायत विषय अध्ययन गरिरहेको छ ।

त्यहाँ बसिरहेका परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको समितिका संयोजक सुनिता सुनारले जानकारी दिए । केही व्यक्तिले आफूलाई भूमिहीन दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइने उनले बताए ।

‘गत वर्ष उक्त स्थानका सात सय ५१ जना भूमिहीन सुकुमवासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित एक सय ५३ जना र भूमिहीन सुकुमवासी एक सय ४१ जना रहेका छन्’, संयोजक सुनारले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *