राजनीति

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती,एक इतिहास असल पात्र

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुभएका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्केका थिए ।

विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भन्नुभएको स्वामी आनन्द अरुण स्मरण गर्छन । प्रधानमन्त्री भएका बेला काठमाडौँमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्थे ।

उनी किसुनजीलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झन्छन् । तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेको उनको स्मृतिमा ताजै छ । सन्तनेताको निष्ठाको राजनीति र चट्टानी अडान उहाँ सधैँ सम्झन्छन्
र त्यसको मुक्तकण्ठले प्रशंसा गर्छन् ।

“किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा समेत स्थापित हुनुभएको छ, अडानमै रहेर उहाँ भारत प्रवासमा पनि गएनन्, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गरे , त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो”, आनन्द अरुणले भने । अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा परिचित हुनुभएको उनको बुझाइ छ ।

किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गतवर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देशको विकासमा उनले गरेको योगदानको प्रचार थालेका छन् ।

“किसुनजी आफैँले स्थापना गरेको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँडे ? यसको खोजी गरेपछि नै उनप्रति सच्चा सम्मान हुनेछ, उनले पार्टी छोडे , आदर्श छोड्नुभएन, उनीप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो”, अध्यक्ष ढकालले भने ।

प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा किसुनजीसँगसँगै भई सक्रिय रहँदै आउभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल पद र पैसाका लागि लोभ नभएको राजनीतिज्ञका रुपमा आफूले चिनेको उनी बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *