काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ । सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिएका हुन् ।
केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उनले जानकारी गराए । त्यस्तै बैठकले एशियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै नागढुंगा–सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको उनले बताए ।
बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइ सम्बन्धी क्षेत्रको बिकास सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । त्यस्तै मन्त्रिपरिषदले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगीतामा बिजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।




