काठमाडौं । अरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग आइतबार दिउँसो भेटवार्ता गरेका छन् । नेपाल भ्रमणका क्रममा रहेका लूले पूर्व प्रधानमन्त्री समेत रहेका देउवासँग बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा दुई मुलुकबीचका बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । भारत र श्रीलंका हुँदै तीन दिने नेपाल भ्रमणमा आइतबार उत्रिएका लुले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा देउवासँग कुरा गरेको स्वकीय भानु देउवाले बताए । उनले भने, ‘उहाँहरूबीचमा नेपाल–अमेरिकाको समग्र पक्षको विषयमा कुराकानी भएको थियो । उहाँहरुले अन्तर्राष्ट्रिय परिवेशलगायत विषयमा पनि छलफल गर्नुभयो,’ स्वकीय देउवाले भने ।
देउवापछि लुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली भने दुई दिन पूर्व भ्रमणमै रहने कारणले गर्दा लुले भेटवार्ता गर्ने छैनन् । साथै, सहायक विदेशमन्त्री लूले नेपाली नेताहरूका साथै नागरिक समाजसाग समेत अन्तरक्रिया गर्नेछन् ।
उनको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तिकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले युवाहरूसँग पनि साक्षात्कार गर्नेछन् । यस अघि पटक–पटक नेपाल आएका लु बाइडेन प्रशासनको अन्त्यतिर दक्षिण एसिया भ्रमणमा आएका हुन् ।