काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला आफ्नै पुराना अभिव्यक्ति र वर्तमान सरकारी गतिविधिबीचको विरोधाभासका कारण दबाबमा देखिएका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाउने विषयमा विगतमा कडा अभिव्यक्ति दिएका रवि अहिले भने सरकारको कदमको खुला बचाउमा उत्रिन बाध्य भएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।
हालै प्रधानमन्त्री बालेन्द्र साह अनुपस्थित रहेको एक बैठकमा समेत रविले सरकारको निर्णयको पक्षमा धारणा राखेका थिए। जबकि उक्त बैठकमा सरकार प्रमुखकै उपस्थितिमा उठेका प्रश्नको जवाफ आउनुपर्ने अपेक्षा गरिएको थियो। बालेन उपस्थित नभएपछि सरकारको बचाउ गर्ने जिम्मेवारी रविमाथि परेको चर्चा भइरहेको छ। बालेनशाहको कार्यशैली कप्टिपनप्रति नेपाली जनताले प्रश्न उठाउँदै उनको राजीनामा समेत सडकबाट मागिसकिएको छ । तर उनी सुनेको नसुनै गर्छन् । अहिलेसम्म बजेट अधिवेशन हुँदा समेत पूर्वगृहमन्त्रीको राजीनामापछि एक जना पनि गृहमन्त्री नियुक्त गर्न सकेका छैनन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीस नियुक्ति हुँदा समेत पनि गृहमनत्री नियुक्त गर्न नसक्नुले बालेन सरकारको चौतर्फी आलोचना भइरहेको छ । विदेशी पाहुनालाई अनादार गरेको विषय पनि त्यति नै आलोचनामा परेका बेला पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने भने उनको बचाउमा बोल्दै हैरान परेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार रविमाथि विभिन्न मुद्दाको दबाब कायम रहेकाले उनी सरकारविरुद्ध खुलेर बोल्न नसक्ने अवस्थामा पुगेका हुन्। राहदानी, सहकारी, सम्पत्ति शुद्धीकरणलगायतका प्रकरण अझै किनारा नलागेकाले सत्ता पक्षसँग दूरी बढाउन उनी हिच्किचाइरहेको बुझाइ छ। यता सरकारको सुकुम्बासी बस्ती हटाउने अभियानका कारण रास्वपाभित्रै असन्तुष्टि बढ्न थालेको बताइन्छ। स्थानीय तह निर्वाचनको तयारी गरिरहेको पार्टीलाई सरकारी कदमले प्रत्यक्ष राजनीतिक असर पार्ने चिन्ता नेताहरूमा देखिएको छ। पार्टीभित्रै केही सांसदहरूले डोजर अभियानले जनमत कमजोर बनाएको भन्दै असन्तोष व्यक्त गर्न थालेका छन्।
स्थानीय तहका प्रमुखहरूले समेत संघीय सरकारको निर्णयप्रति असहमति जनाउन थालेपछि परिस्थिति थप जटिल बनेको छ। दमक, विराटनगर र बुटवलका मेयरहरूले सुकुम्बासीको विवरण उपलब्ध गराउन अस्वीकार गर्दै संघीय सरकारको कदमप्रति प्रश्न उठाइसकेका छन्। यसबीच, मधेस केन्द्रित नेताहरूबीचको आन्तरिक दूरीले पनि रास्वपाको नेतृत्वलाई थप दबाबमा पारेको चर्चा छ। पार्टीभित्रको मतभेद, सरकारप्रतिको आलोचना र जनस्तरमा बढ्दो असन्तुष्टिका बीच रवि लामिछानेको राजनीतिक रणनीति चुनौतीपूर्ण मोडमा पुगेको विश्लेषण हुन थालेको छ।
उनी नेपाली राजनीतिमा आफ्नो वाककला, तार्किक क्षमता र आफूमाथि लागेका आरोपहरूको खण्डन गर्ने शैलीका कारण निकै चर्चामा रहने गर्छन्।लामिछानेले आलोचनाहरूको खण्डन गर्ने सन्दर्भमा पछिल्लो समयका केही मुख्य पक्षहरू यस प्रकार छन् । पूर्व सञ्चारकर्मी भएको नाताले उनले जनतासँग प्रत्यक्ष संवाद गर्ने र जटिल राजनीतिक मुद्दाहरूलाई सरल भाषामा आफ्नो पक्षमा राख्ने कलामा निपुणता देखाएका छन्।
आफूमाथि लागेका सहकारी बचत अपचलन र राहदानी दुरुपयोग जस्ता गम्भीर आरोपहरूलाई उनले राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएका छन्। संसद र सार्वजनिक मञ्चहरूबाट उनले यी विषयमा दिने स्पष्टीकरण निकै आक्रामक र तार्किक हुने गरेको छ। अदालतमा विचाराधीन रहेका मुद्दाहरूका सम्बन्धमा पनि उनले न्याय पाउने पहिलो हक र प्रक्रियागत त्रुटिहरू औंल्याउँदै आफ्ना समर्थकहरूलाई आश्वस्त पार्ने प्रयास गर्छन्।
विपक्षी दल वा नेताहरूले गर्ने आलोचनाको जवाफ दिँदा उनले अक्सर पुरानो राजनीतिक नेतृत्वको असफलतालाई ढाल बनाउने गरेका छन्, जसले गर्दा उनका समर्थकहरूमा उनीप्रति थप भरोसा जाग्ने गरेको देखिन्छ। रवि लामिछाने नेपाली राजनीतिमा आलोचनालाई सामना गर्ने र त्यसलाई राजनीतिक पुँजीमा बदल्न खोज्ने एक सिपालु र प्रभावशाली पात्रका रूपमा स्थापित छन्।




