काठमाडौं । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठित नेकपा एमालेको कार्यदल प्रतिवेदनमा देखिएको मतभेद समाधान गर्दै साझा निष्कर्षमा पुग्न काभ्रेपलाञ्चोकमा आवासीय छलफलमा जुटेको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा तथा जनतासँगको सम्बन्ध सुधारका लागि आवश्यक संगठनात्मक रूपान्तरण र पुनर्गठनबारे सुझाव संकलन गर्न कार्यदल गठन गरिएको थियो। कार्यदलका पदाधिकारीहरू शनिबारदेखि काभ्रेमा बसेर प्रतिवेदनका विषयमा छलफल गरिरहेका छन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार शनिबार काभ्रे पुगेका कार्यदलका नेताहरू छलफल सकेर आइतबार काठमाडौं फर्कनेछन्।
कार्यदलले प्रदेशगत रूपमा सुझाव संकलन गरेपछि महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापाले फरक मतसहित छुट्टै प्रतिवेदन प्रस्तुत गरेपछि विवाद देखिएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहेको बताइए पनि कार्यदलबाट सर्वसम्मत प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने समझदारीअनुसार थप छलफल अघि बढाइएको हो।
एमाले सचिवालयको जेठ १० गते सम्पन्न आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। जेठ २६ गते अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो।
गत शुक्रबारको बैठकमा दुई फरक प्रतिवेदन प्रस्तुत भएपछि दुवै प्रतिवेदनका विषय समेटेर एउटै साझा प्रतिवेदन तयार गर्ने तयारी कार्यदलले गरेको छ। त्यसका लागि काभ्रेमा आवासीय छलफललाई निरन्तरता दिइएको हो।
यसैबीच, भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिका कारण एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक असोज ५, ६ र ७ गतेका लागि तय गरिएको छ। उक्त बैठकअघि नै कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको एमालेले जनाएको छ।




