इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि व्यावसायिक एभोकाडो खेती सुरु गरे । अन्नबाली उत्पादन हुँदै आएको २० रोपनी जमिनमा उनले २०० वटा एभोकाडोका बिरुवा रोपे ।
‘योङहाङ कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर खेती सुरु गरेका लिम्बूले बिरुवा खरिद, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा ठूलो लगानी गरे । सुरुका वर्षमा बिरुवा राम्ररी हुर्किए । गत वर्षदेखि फूल लाग्न थालेका बोटमा यस वर्ष उत्पादन पनि राम्रो हुने अपेक्षा थियो ।
तर फल लाग्ने मुख्य याममै एभोकाडोका बोट एकपछि अर्को गर्दै सुक्न र मर्न थालेपछि लिम्बू चिन्तित बनेका छन् । उनका अनुसार सुरुमा बोटको तल्लो भागका पात पहेँलिने, हाँगा कमजोर हुँदै जाने र क्रमशः पूरै बोट सुक्ने समस्या देखिएको छ ।
लिम्बूले विसं २०७८ मा धनकुटाको पाख्रिबासबाट प्रतिगोटा २०० रुपैयाँका दरले २०० वटा बिरुवा खरिद गरेर रोपेका थिए । पाँच वर्षसम्म हुर्काएर उत्पादन दिन थालेका बोटमा समस्या देखिएपछि लगानीसमेत डुब्ने चिन्ता बढेको उनले बताए ।
“बिरुवा राम्रोसँग हुर्किएर यो वर्षदेखि फल पनि लाग्न थालेको थियो । तर एकाएक पात पहेँलिँदै बोट नै मर्न थालेपछि चिन्तित छु,” लिम्बूले भने, “लटरम्म फल लागेको एभोकाडोका दाना खस्नुका साथै बोट नै मर्न थालेका छन् । सुरुमा गरेको लगानी कसरी उठाउने भन्ने चिन्ता लागेको छ ।”
उनका अनुसार बगानका अधिकांश बोटमा समस्या देखिएको छ । बिरुवा खरिददेखि जग्गा तयारी, मल र सिँचाइ व्यवस्थापनसम्म ठूलो रकम खर्च गरे पनि उत्पादन दिने समयमा बोट मर्न थालेपछि लाखौँ रुपैयाँ बराबरको क्षति हुने अवस्था आएको उनले बताए ।
इलाममा अहिले एभोकाडो बोटबाटै प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । राम्रो बजार मूल्य र एकपटक बगान स्थापना गरेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले जिल्लाका किसान परम्परागत अन्नबाली छाडेर एभोकाडो खेतीतर्फ आकर्षित हुँदै आएका छन् ।
एभोकाडोमा विभिन्न प्रकारका भिटामिन तथा खनिज तत्व पाइने भएकाले यसलाई पोषणयुक्त फलका रूपमा लिइन्छ । यसमा भिटामिन ‘सी’, ‘ई’, ‘के’ र ‘बी’ समूहका साथै राइबोफ्लाभिन, नियासिन, फोलेट, प्यान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पाइन्छ ।
समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइसम्म एभोकाडो खेती गर्न सकिने बताइन्छ । बिरुवा रोपेको चार–पाँच वर्षदेखि उत्पादन दिन थाल्ने भएकाले समथर जमिनसँगै पाखोबारी र कान्लामा समेत एभोकाडो खेती विस्तार हुँदै गएको छ । यसबाट किसानले दीर्घकालीन आम्दानीको स्रोत बनाउने अपेक्षा गरेका छन् ।




