काठमाडौं । नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीका अनुसार बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा टिकटको टुंगो लगाउन १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । अध्यक्षका लागि १३ जना आकांक्षी थिए ।
यस्तै माओवादी केन्द्रले यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए । गत असार ३ गते उनको निधन भएको थियो ।




