काठमाडौं । १० दिने अमेरिका भ्रमण सकेर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले लगातार परेको वर्षाका कारण देशमा भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आपत विपतको समयमा एक –अर्काको बिरोध गर्नुभन्दा पनि सबैले सहकार्य गरेर देशमा उत्पन्न समस्याको समाधान गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत , स्वास्थ्य उपचारमा सरकार प्रतिवद्ध रहेको बताउँदै थप आपत विपतका कार्य व्यवस्थापनलाई प्रभावकारी बनाउँदै लैजाने उल्लेख गरे ।
‘विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास तत्काल बैठक बसेर, तत्काल सेना प्रहरी खटेर उद्धार कार्य गरेको छ । अब बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्याउने कुरा हो । सूचना गरेर पहिरो जाँदैन’, उनले भने । सरकारले तदारुकताका साथ उद्धार र राहत पुर्याउने काम सरकारको भएको बताए । ओलीले काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना नगरिएको भन्दै दुःख व्यक्त गरे । ‘काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना पनि थिएन । यस्तो कुरालाई वस्तुगत ढंगले लिनुपर्छ’, उनले भने ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अव थप तीव्रता दिइने बताए । प्रधानमन्त्रीले अब आफू स्वदेश फर्केपछि पनि उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने भन्दै त्यसलाई थप प्रभावकारी बनाउने बताए ।




