देश

संघीय संसद्मा ५८ सांसदले मात्र बुझाए सम्पत्ति विवरण,रास्वपा सांसदको वाचामा प्रश्न उठ्दै

काठमाडौं । कानुनी व्यवस्था र चुनावी वाचाका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषय चर्चामा आएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था छ । तर सार्वजनिक पद सम्हाल्नुअघि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने रास्वपाको चुनावी वाचा अझै कार्यान्वयनमा आएको देखिएको छैन ।

रास्वपाले २१ फागुनको चुनावका लागि ल्याएको १०० बुँदे वाचापत्रमा सार्वजनिक पद सम्हाल्नुअघि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने र कार्यकालपछि सम्पत्तिमा भएको परिवर्तनको स्वतन्त्र लेखा परीक्षण गराएर सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो ।

संसद् सचिवालयको सांसद सुविधा शाखाका अनुसार हालसम्म ५८ जना सांसदले मात्र आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । बाँकी सांसदहरूले भने अझै विवरण बुझाउन बाँकी रहेको जनाइएको छ ।

रास्वपाका मात्र १८२ जना सांसद रहेको उल्लेख छ भने नेपाली कांग्रेस, नेकपा एमाले लगायत अन्य दलका सांसदहरूको पनि विवरण बुझाउने प्रक्रिया जारी रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले यसअघि नै सूचना जारी गर्दै सांसदहरूलाई आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । कानुनी व्यवस्थाअनुसार ६० दिनभित्र विवरण बुझाउनुपर्ने प्रावधान भए पनि अझै समय बाँकी रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *