काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य साङपाङ राईले जेनजी पुस्तासँग सम्बन्धित मुद्दा अध्ययन र सम्बोधनका लागि छुट्टै आयोग गठन गर्न सरकारलाई सुझाव दिएका छन्।
बिहीबार संसद्मा बोल्दै सांसद राईले हालको सामाजिक–राजनीतिक परिवर्तनमा जेनजी पुस्ताको भूमिका, अपेक्षा र चुनौतीहरूलाई व्यवस्थित रूपमा सम्बोधन गर्न संस्थागत संयन्त्र आवश्यक रहेकाले जेनजी राष्ट्रिय आयोग बनाउनुपर्ने धारणा राखे । उनका अनुसार नयाँ पुस्ताका समस्या केवल नीतिगत स्तरमा मात्र होइन, दीर्घकालीन दृष्टिकोणबाट अध्ययन गर्नुपर्ने विषय भएकाले त्यसका लागि आयोग उपयुक्त माध्यम हुन सक्छ।
सांसद राईले सरकारले जेनजी पुस्तासँग सम्बन्धित शिक्षा, रोजगारी, डिजिटल पहुँच र सामाजिक सहभागिताजस्ता विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने पनि बताए। उनले भने, “जेनजी पुस्ता आजको मात्र होइन, भविष्यको नेतृत्व पनि हो। उनीहरूको सवाललाई छुट्टै रूपमा अध्ययन गर्ने आयोग आवश्यक देखिन्छ।” संसद उठाइएको उक्त सुझावसँगै जेनजी पुस्तासम्बन्धी नीतिगत बहस थप चासोको विषय बनेको छ।




