काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा उजुरी दिएका हुन् । कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै खरेलले छानबिन माग गरेका छन् ।
खरेलका अनुसार घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रा.लि.दर्ता गरिदिएका थिए । सो कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको छन् । उनका दाजुभाइको सामान्य आर्थिक अवस्था भएकाले करोडौँको कम्पनी खोल्न सक्ने अवस्था नभएको तर उनका चार दाजू भाइले ठूलो लगानीको हार्डवेयर कम्पनी खोलेपछि निर्देशक घिसिङले व्यावस्थापन गरिदिएकाले हुन सक्ने भन्दै अनुसन्धानका लागि खरेलले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
खरेलले अख्तियारमा दिएको उजुरीमा कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी रहेको छ । उक्त कम्पनी अहिलेसम्म निरन्तर घाटामा छ । उक्त कम्पनी उनका दाई गणेशले संचालन गर्दै आएका छन् । एउटा हार्डवेयरको नाममा १७ वटा बैंक खाता खोलेर एक वर्षमा नै अर्बौको कारोबार गरेको उनले दाबी गरेका छन् । कुलमानको सम्पत्तिको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन जरुरी रहेको उल्लेख गर्दै खरेलले विद्युत् खरिद सम्झौता पीपीएमा धेरै ठूलो घोटाला गरेको दाबी गरेका छन् । नियमानुसार विद्युत् नियमन आयोगको स्वीकृतिबिनै सम्झौता गरेर धेरै ठूलो भ्रष्टाचार गरेको कुलमानमाथि आरोप छ ।
“कुलमान घिसिङले ६६ वटा कम्पनीसँग कानुनविपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको छ,” खरेलले उजुरीमा भनेका छन्, “कुलमानले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न उर्जा उत्पादक कम्पनीसँग पावर पर्चेज एग्रिमेन्ट गरेका थिए ।
“आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले आयोगको स्वीकृतिबिना नै पीपीए गरेर राज्यलाई करोडौँको नोक्सानी गराएको छ । २०७४ मंसिर १७ गतेबाट विद्युत् नियमन ऐन लागु भए पनि कुलमान घिसिङले भने ६२ वटा उर्जा उत्पादकसँग २०७५ मा र चार वटा उर्जा उत्पादकसँग २०७६ सालमा पीपीए गराएका थिए” खरेलले अख्तियारमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।
यस्तै सार्वजनिक लेखा समितिले समेत बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीमाथि प्रश्न खडा गरेको छ । निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समिति घिसिङमाथि अनियमिताको प्रश्न उठाएको हो ।
लेखा समितिका सभापतिसमेत रहेका सांसद ऋषिकेश पोखरेलले भने,‘महालेखा नियन्त्रण कार्यालयले आफनो ५६ देखी ६१ औं सम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौंता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिरहेको अवस्था थियो, त्यो बेला सरकारले नै पहिला काम सकोस भनेर समितिमा छलफल चलाइएन,’ पोखरेलले भने, ‘सरकारले काम गरिरहेको बेला लेखा समितिले हात हाल्नु हुदैँन भनेर मैले रोकिराखेको थिएँ तर जब प्राधिकरणले ६ अर्बमा २ अर्ब बिगो तोकेर ८ अर्बको मात्रै बिल पठाए पछि समितिमा एजेन्डा बनेको हो ।’




