काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले सरकारले जनताका लागि न्याय सुनिश्चित गर्न अध्यादेश ल्याउनुपरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले आठ वटा अध्यादेश जनताका हितमा ल्याइएको भन्दै त्यसको विरोध गर्नु आवश्यक नभएको टिप्पणी गरे ।
उनका अनुसार विगत लामो समयदेखि राज्यका संरचना र सेवा प्रवाहमा दलगत प्रभाव र दलीयकरणका कारण समस्या सिर्जना भएकाले सुधार आवश्यक भएको हो ।
नेता पराजुलीले विगत ३७ वर्षमा राज्य प्रणाली कमजोर पारिएको दाबी गर्दै विभिन्न क्षेत्रहरूमा दलीय हस्तक्षेप र विचौलियाको प्रभावका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाए ।
उनले वन ऐन र खरिद ऐनका केही प्रावधानका कारण विकास कार्य अवरुद्ध भएको उल्लेख गर्दै त्यस्ता कानुनी बाधा हटाउन अध्यादेश ल्याइएको स्पष्ट पारे ।
विपक्षी दलहरूलाई लक्षित गर्दै उनले अध्यादेशको विरोध गर्नुको सट्टा संसदीय प्रक्रियाअनुसार प्रतिस्थापन विधेयकमार्फत आफ्ना धारणा राख्न सकिने सुझाव दिए ।
नेता पराजुलीले भने, “सरकार गठन भएको १०० दिन पनि पुगेको छैन। तर सरकारले भूमिहीन र वञ्चित वर्गमा आशा जगाउने प्रयास गरेको छ। केही कमजोरी भए पनि हामी जनताका पक्षमा इमानदारीपूर्वक काम गरिरहेका छौँ।”
उनले न्यायपालिका सम्बन्धी विवादप्रति पनि टिप्पणी गर्दै न्यायालयलाई निष्पक्ष र मर्यादित राख्नुपर्नेमा जोड दिए । साथै, न्यायाधीशहरूको आचारसंहिता पालनामा कडाइ आवश्यक रहेको उनले बताए ।
पराजुलीले सीमा व्यवस्थापन र आवतजावत नियन्त्रणसम्बन्धी सरकारको प्रयासलाई आलोचना गर्नुपर्ने कारण नरहेको भन्दै यसले आन्तरिक बजार सुदृढीकरण र नागरिक जीवन सहज बनाउन सहयोग गर्ने दाबी गरे ।




