राजनीति

सरकारले एसपिपी सम्झौता नगर्ने प्रचण्डको दावी, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भएकाे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सझौता नगर्ने प्रष्ट पारेका छन् । २१औं रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले सरकार नेपालको राष्ट्रियता स्वाधिनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने विश्वास दिलाए ।

अध्यक्ष प्रचडले वर्तमान सरकार यो सम्झौता गर्नेतर्फ नलाग्ने बरु यस अघिको ओली सरकारले उक्त सम्झौताको कार्यान्वयन गर्ने काम गरेको तथ्य इतिहासमा भेटिने जिकीर गरे । एसपिपीका विषयमा चर्चा गरेर राष्ट्रवादको झुठो प्रचार गर्ने काम भएको पनि उनले दाबी गरे । उनले भने “बरु यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरुरी छ”, उनले भने ।

“एसपिपी सम्झौता हुँदैछ रे, भइ नै सक्यो रे भनेर जुन ढङ्गले प्रचार गरिएको छ, त्यो झुठो हो । प्रधानमन्त्री र गठबन्धनमा भएको छलफलअनुसार अहिलेसम्म त्यस्तो कुनै सम्झौता भएको छैन”, पूर्वप्रधानमन्त्री दाहालले भने , “त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन भन्ने घोषणा म यहाँबाट गर्न चाहन्छु ।

” प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले कुनै पनि हालतमा त्यस्तो खालको सम्झौता गर्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको जनाउँदै अध्यक्ष प्रचण्डले सरकारले सम्झौता गर्न लाग्यो भनेर कोही भ्रममा पर्न जरुरी नभएको बताए । गठबन्धन सरकार एसपिपी सम्झौता गर्नेमा नलाग्ने विश्वास दिलाउँदै उनले भने “गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता तथा नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *