राजनीति

ओलीले फेरि फ्याँके एकताको तुरुप, माधव पक्षको बेवास्ता

काठमाडौं । स्थानीय निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि एमाले नेताहरू फेरि वाम एकता वा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयासमा लागेका छन् । त्यसका लागि एमालेका दोस्रो तहका नेताहरूकोदौडधूप बाक्लिएको छ । आगामी मंसिरभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले पनि एमाले नेताहरू माधवकुमार नेपाल निकट नेताहरूसँग भेटघाटमा लागेका हुन् ।

एमाले नेताहरूले माधव नेपाल वा झलनाथ खनाललाई प्रधानमन्त्रीको चारो पनि फ्याँकेका छन् । कतिसम्म भने एमालेसँग एकता गर्न माधव र झलनाथमध्ये एकलाई दोस्रो अध्यक्ष र एकजनालाई वरिष्ठ नेता दिन सकिने प्रस्ताव पनि पठाइएको बुझिएको छ ।

एमाले स्रोतका अनुसार सिंगो एकीकृत समाजवादीसँग एकता हुन नसक्दा पनि उक्त पार्टीभित्रको एउटा पंक्तिलाई एमालेमा फर्काउने रणनीति तय भएको छ । गत वर्ष १० बुँदे सहमतिका नाममा माधवकुमार नेपाललाई साथ दिएका दोस्रो तहका मुख्य–मुख्य नेताहरू एमालेमा फर्किएझैँ अहिले पनि एकताका विभिन्न मोडेल अगाडि सार्ने र त्यसबाट सम्पूर्ण पार्टी एकतामा गएन भने पनि उक्त मोडेलका पक्षधरमध्ये केही नेतालाई एमालेमा फर्काउनुपर्छ भन्ने मान्यता विकास भएको छ । स्रोतका अनुसार यो कामका लागि ओलीले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टलाई परिचालित गरेका छन् ।

एकीकृत समाजवादीले एकजना राज्यमन्त्रीबाहेक सरकारमा सामेल सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि एमालेले फिर्ता बोलाइएका मन्त्रीमाथि आँखा लगाएको छ । विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई एमालेका केही नेताले बढीजसो सम्पर्क गर्न थालेका छन् ।

एकीकृत समाजवादीका नेताहरूले एमाले अध्यक्षका रुपमा ओलीको वहिगर्मन, ०७७ पुस ५ र ०७८ जेठ ८ को संसद विघटनको आत्मालोचना र नेतृत्वमा दुबै पक्षका दोस्रो तहका नेताहरू समान व्यवस्थापनलाई बटमलाइन बनाएको छ । तर, अध्यक्ष ओली स्वयं यीमध्ये कुनै पनि विकल्पमा छलफल गर्न तयार देखिएका छैनन् । ओलीले माधव नेपाल वा झलनाथ खनालमध्ये एकलाई दोस्रो हैसियतको अध्यक्ष र अर्कोलाई वरिष्ठ नेताको हैसियत दिइने सन्देश पठाएका थिए । उक्त सन्देशलाई दुवै नेताले अस्वीकार गरिसकेका छन् ।

सके सिंगो एकीकृत समाजवादीसँग एकता गर्ने, नसके एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूलाई एमालेमा फर्काउने रणनीति अघि बढेको छ । यसका लागि अहिले मन्त्रीबाट फिर्ता बोलाइएका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आलेसँग एमाले नेताहरूले पटक पटक कुराकानी गरेको स्रोतले बतायो । हिजो माधव नेपाललाई धोका दिने १० भाइकै मोडेलमा यसपटक पनि दोस्रो तहका नेताहरूलाई एमालेमा फर्काउने अभियान तीव्र रूपमा अघि बढेको एक नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *