काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सुनुवाइका लागि गठन गरेको संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ललाई राखिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि उनको ठाउँमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मल्ललाई सामेल गराएका हुन् । मल्ल पूर्वएमाले सभासद् हुन् ।
यसअघि इजलास नहेर्ने भन्दै बाहिरिएका कार्की पनि पूर्वएमाले नेता नै हुन् । उनी पहिलोचोटि केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्नकै लागि उनले महान्यायाधिवक्ता छाडेका थिए ।
अहिले उनको ठाउँमा पूर्वएमालेकी कट्टर नेता मल्ललाई संवैधानिक इजलासमा सामेल गराउनुले प्रधानन्यायाधीश जबराको नियतमाथि शंका गरिएको छ । प्रधानन्यायाधीश राणाले तोकेको इजलाशमा प्रधानन्यायाधीश राणा आफै, सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । इजलासकै न्यायाधीशहरूले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गरेका छन् । बहसका क्रममा अधिकांश वरिष्ठ अधिवक्ताले पनि बृहत् पूर्ण इजलासकै माग गरेका छन् ।




