काठमाडौं । रात्रीकालीन व्यवसाय निर्वाध खुल्न थालेपछि उपत्यका कोरोना संक्रमणको जोखिममा परेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकामा लागू गरिएको सवारीसाधनमा लागू गरिएको जोरविजोर प्रणाली खुकुलो भएसँगै रात्रीकालीन व्यवसायहरु डिस्को, क्लबहरु निर्वाध खुला हुँदा संक्रमणको सन्त्रास झन् बढेको हो ।
सरकारले सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली दुई साताअघिबाट हटाउने निर्णय भएपछि रात्रीकालिन व्यवसाय नियमित सुचारु हुँदा त्यहाँ जाने ग्राहकहरुको भीडभाडले कोरोनाको सन्त्रास बढेको बताइएको छ ।
ठमेल, दरवारमार्ग, नयाँ वानेश्वर, चावहिल, बौद्ध, टेकु, झम्सीखेल, सातदोबाटोमा सञ्चालित कतिपय रात्रीकालीन रेष्टुराँ, डिस्को र क्लबहरुमा भीडभाड हुने गरेको र सामान्य स्वास्थ्य मापदण्डको पालानासमेत नगर्दा कोरोना संक्रमण बढ्न थालेको छ ।
राजधानीमा पिसिआर परीक्षणमा आएका कतिपय युवायुवतीले आफू रात्रीकालीन डिस्कोमा गएको, क्लबमा गएको बताएपछि ती क्षेत्रमा संक्रमितहरुसमेत जाने गरेको पुष्टि भएको हो ।
‘अहिले क्लवमा जाने युवायुवतीहरुको परीक्षण गर्दा संक्रमणको दर फैलिएको हो कि भन्ने आशंका छ,’ एक चिकित्सकले भने । उनका अनुसार पछिल्लो एक साताको पिसीआर रिपोर्टमा अधिकांश युवायुवतीहरुको रिपोर्ट पोजेटिभ आएपछि डिस्को तथा रात्रीकालीन क्लवहरुबाटै संक्रमण फैलिएको आशंका ती चिकित्सकले गरेका छन् ।
प्रहरीले समेत रात्रीकालिन व्यवशायको अनुगमनमा खुकुलो बनाएको छ । लामो समयदेखि बन्द रहेका ती व्यवशाय खुला भएसँगै भीडभाड बढ्दा प्रहरीको ध्यान नगएको हो । साथै ती व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पालाना गरे नगरेको समेत अनुगमन भएको छैन । खुला गर्न अनुमति दिने जिल्ला प्रशासन कार्यालयल पनि अनुगमन गरेको छैन ।
साँझको समयमा सार्वजनिक सवारीसाधनमा धेरै भिड भएपछि जोर–बिजोर हटाउने निर्णय गरिएको र डिस्को तथा रात्रीकालीन व्यवसायीलाई स्वास्थ्य मापदण्ड अपनाएर धेरै भीड नगरी सञ्चालन गर्न अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
‘सबै क्षेत्र खुला भएपछि रात्रीकालिन व्यवशाय पनि खुला गर्न अनुमति दिइएको हो तर उनीहरुले स्वास्थ्य मापदण्ड भने कडाईका साथ पालाना गर्नुपर्छ स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएको पाइए कडा कारवाही गरिनेछ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।
सुरुका केही दिन भिड नहुने गरी डिस्को, क्लब तथा डान्सबारहरु सञ्चालन भएका थिए, तर क्रिसमस र अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ठमेल तथा दरवारमार्गका डिस्को तथा क्लबमा भीडभाड भएको थियो । ‘सबैभन्दा बढी क्रिसमस डेमा भीड भएको देखियो त्यस्तो भीडमा पनि प्रहरी तथा प्रशासनको उपस्थिति थिएन,’ दरवारमार्गका एक व्यवसायीले भने । लामो सयमदेखि क्लव जान नपाएका युवा युवतीहरुको निकै भीड लागेको पनि ती व्यवशायीले बताए ।
पर्यटन मन्त्रालयको कार्यविधिका आधारमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न दिइएको सिडिओ पराजुलीले बताए । पर्यटन व्यवसायको क्षेत्र क्रमिक रुपमा खुल्दै गएको बेला रात्रिकालिन मनोरञ्जन पर्यटन व्यवसाय पनि अब खुलेका हुन् ।
रात्रीकालिन सेवा सञ्चालनका लागि व्यवसायीहरुले माग गरिरहेका बेला सरकारले नाइट क्लब, दोहोरी साँझ, बार लगायतका रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु खोल्न दिदा संक्रमण झन् बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले डिस्को क्लबमा तत्काल नजान आग्रह गरेका छन् ।
‘अहिले सबै क्षेत्र क्रमशः खुल्दै गएको अवस्था हो । पर्यटन यातायात हवाई क्षेत्र मात्र नभएर अन्य व्यवसायिक क्षेत्र समेत क्रमशः खुल्दै गएको छ । यस्तो अवस्थामा रात्रीकालिन मनोरञ्जनका क्षेत्रलाई मात्र रोकि राख्नु उचित हुँदैन । सो व्यवसायले पनि गरिखान पाउनुपर्छ । त्यसैले हामीले सो क्षेत्रलाई समेत खुल्ला गर्नुपर्ने हाम्रो प्रस्तावमा पर्यटन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिएको हो ,’ पर्यटन बोर्डका कार्यकारी निर्दैशक धनन्जय रेग्मीले भने । स्वास्थ्य मापदण्ड अपनाएर खुला गर्न भनेको, तर स्वास्थ्य मापदण्ड पूरा नभएका रात्रिकालिन व्यवशाय सञ्चालनमा भने रोक लगाइने पनि उनले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंले भने सबै प्रकारका रात्रीकालिन व्यवशायमा अनुगमन गरिरहेको जनाएको छ । ‘रात्रीकालिन व्यवशायहरुलाई भीडभाड नगरी खुला गर्न दिइएको छ अटेर गरेको पाइए कारवाही हुन्छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने । उनका अनुसार सबै वृत्तहरुलाई अनुगमन गर्न निर्दैशन दिइएको छ । ‘मातहत सबै निकायलाई भीडभाड भएको स्थान र क्लवहरुलाई निगरानी गर्न निर्दैशन दिइएको छ कतै यस्तो देखिए परिसरको टोली पनि खटिनेछ,’ एसएसपी सिंहले भने ।




