काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार तथा स्थानीय तहलाई आफ्ना वेबसाइटमा कर्मचारीहरूको विवरण अद्यावधिक गर्न र सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ ।
बुधबार सूचना जारी गरी कार्यालयले सार्वजनिक निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता तथा सूचना अधिकारीको विवरण पुरानो हुनुका साथै कार्यालयका टेलिफोन तथा मोबाइल फोन नउठ्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै त्यसमा सचेत रहन निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ, ‘सार्वजनिक निकायको वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक नहुने, कार्यालयको टेलिफोन तथा मोवाइल नउठ्ने लगायतका विषयमा गुनासो प्राप्त भएकोले तहाँ निकायमा कार्यरत कर्मचारीहरूको नाम, मोवाइल नम्बर र इमेल कार्यालयको वेबसाइटमा तत्काल अद्यावधिक गर्नुहुन र कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोवाइल फोन कम्तिमा कार्यालय समयमा अनिवार्य उठाई नागरिक तथा सेवाग्राहीले माग गरेको सूचना तथा गुनासोको तत्काल सम्बोधन गर्ने, गराउने व्यवस्थाका लागि आदेशानुसार अनुरोध छ ।’





