काठमाडौं । मुलुकको अस्थिर राजनीतिक परिवेशबीच माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच रणनीतिक भेटघाट सम्पन्न भएको छ। शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलले वाम राजनीतिमा पुनःसंयोजनको संकेत दिएको देखिन्छ।
दुई नेताबीच भएको संवादमा राष्ट्रिय राजनीतिमा भइरहेको अस्थिरता, वामपन्थी ध्रुवीकरणको सम्भावना, तथा शक्तिराष्ट्रबीचको अन्तर्राष्ट्रिय तनाव र त्यसको नेपाली राजनीतिमा परेको प्रभाव बारे गहिरो छलफल भएको स्रोतले जनाएको छ।
साथै, कम्युनिस्ट शक्ति एकताबद्ध गर्ने प्रयास, सरकारको कार्यशैलीप्रति धारणा आदान–प्रदान, तथा भविष्यमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहकार्य र एकताको आधार के हुन सक्छ भन्ने विषयमा पनि कुराकानी भएको छ।
हालैको राजनीतिक घटनाक्रम – विशेषगरी सत्ता गठबन्धनको असमझदारी, कानुनी बहसहरू, र वामपन्थी दलहरूको बिखण्डनबीच प्रचण्ड–माधवको यो भेट ‘वाम एकता पुनर्जीवन’ तर्फको संकेतको रूपमा हेरिएको छ। यद्यपि, दुवै दलमा अहिले सैद्धान्तिक असमझदारी कायम रहे पनि साझा न्यूनतम बिन्दु खोज्ने प्रयास भने देखिन थालेको छ।
यो भेट केवल शिष्टाचार होइन, राजनीतिक सन्देशले भरिएको भेटघाट हो। वाम राजनीति फेरि एकपटक पुनर्गठनको मोडमा उभिँदैछ किरु प्रचण्ड–माधव संवाद त्यसको संकेत हुनसक्छ। तर, व्यवहारमा यो सहकार्य कुन दिशातिर मोडिन्छ भन्ने कुराले मात्र त्यसको वास्तविकता पुष्टि गर्नेछ।




