काठमाडौं । प्रतिनिधिसभाको निरन्तर अवरोध हटाउन सभामुख देवराज घिमिरेले सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफललाई तीव्र बनाएका छन्। बुधबार पनि उनीहरूले संसद सञ्चालनका विषयमा बैठक गरेका छन्।
छलफलमा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, नेकपा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र कानुनमन्त्री अजयकुमार चौरासिया सहभागी छन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्।
गृहमन्त्रीमाथि संलग्नताको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग राखिएको छ। सहमति नजुट्दा मंगलबारको बैठक स्थगित गरिएर आज दिउँसो १ बजेसम्म सारिएको थियो, तर अझैसम्म बैठक सुरु हुन सकेको छैन।
संसद चलाउनका लागि सहमति खोज्ने प्रयास जारी रहे पनि ठोस निष्कर्ष ननिस्कँदा संसदीय गतिरोध कायमै रहेको छ।




