देश

आङदेम्बे चयनसँगै संवैधानिक परिषद् पूर्ण, प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे लाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ।

प्रतिनिधिसभा निर्वाचन भएको डेढ महिनापछि कांग्रेसले आज आङदेम्बेलाई दलको नेता चयन गरेसँगै परिषद् गठन प्रक्रिया पूरा भएको हो। यससँगै प्रधानन्यायाधीशसहित संवैधानिक नियुक्तिको बाटो खुलेको छ।

कांग्रेसले दलको नेता चयनमा ढिलाइ गर्दा यसअघि संवैधानिक परिषद् बैठक बस्न सकेको थिएन, जसका कारण प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अवरुद्ध भएको थियो। हाल सपना प्रधान कामु प्रधानन्यायाधीशको भूमिकामा रहेकी छन्।

संविधानको धारा २८४ अनुसार परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने र सदस्यमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।

अब बस्ने परिषद् बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ। उक्त नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि रामचन्द्र पौडेल ले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

अबको बैठकमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेताका रूपमा आङदेम्बे सहभागी हुनेछन्। पहिलो बैठकमा कानुन मन्त्रीको पनि सहभागिता रहने प्रावधान छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *